काठमाडाैं : श्रीमतीमाथि घरेलु हिंसा र दाइजो लिएको आरोपमा महाेत्तरीबाट प्रहरीले एक जना डाक्टरलाई पक्राउ गरेकाे छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले बिहीबार राती डाक्टर पंकज चौधरीलाई रामगोपालपुरस्थित उनको घरबाट पक्राउ गरेको हाे।
चाैधरीमाथि घरेलु हिंसा र अत्यधिक दाइजाे लिएकाे जाहेरी परेकाे छ। ९ महिना अघि महोत्तरी औराहीकी नेहा चौधरीसँग विवाह गरेका पंकजले विवाहमा अत्यधिक दाइजो लिएको जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
यसअघि उनीमाथि घरेलु हिंसामा जाहेरी परेको थियो। त्यस मुद्दामा अझै पनि अनुसन्धान जारी भएको एसपी पंगेनीले बताए।
नेहाका अनुसार विवाहमा २० तोला सुन, फर्निचर लगायतका सामान गरी एक करोड २५ लाख खर्च भएको जनाइएकाे छ। विवाहको केही दिनपछि नै पंकजले काठमाडौंमा घर किनेर दिन दबाब दिएको नेहाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन।
पंकजले के-कति दाइजो लिएका थिए भन्ने खुलिसकेकाे छैन।
नेहा र पंकजबीच प्रेम भएपछि परम्पराअनुसार नै विवाह भएको थियो। पंकज ग्रान्डी अस्पतालमा काम गर्थे।
तर विवाह भएको केही दिनदेखि नै घरमा श्रीमान, सासु र नन्दहरूले गाली र अभद्र व्यवहार गरेको भन्दै नेहाले सामाजिक सञ्जालमा लेखेकी थिइन्।