डाेल्पा- डाेल्पाकाे जगदुल्ला गाउँपालिकामा भएको झडपमा नाैजना घाइते भएका छन्।
गाउँपालिकाकाे वडा नम्बर ३ मा पर्ने थापा गाउँमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका गरी नाैजना घाइते भएका हुन्।
प्रहरीका अनुसार गएराति नाै बजे झडप भएकाे र झडपमा परी एमालेका चार र माओवादी केन्द्रका पाँचजना घाइते भएका हुन् ।
घटना हिजाेकाे भए पनि साेमबार बिहान मात्रै जानकारी आएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा जगदुल्ला-३ का एमाले समर्थक जालपा बाेहरा,भद्र बाेहरा, कृष्णजंग बाेहरा, शान्ता बाेहरा र माओवादी समर्थक साेही वडाकै बिर्ख बाेहरा, लक्ष्मण बाेहरा, गाेरसिँह बाेहरा,पबिन्द्र बाेहरा र जगत बाेहरा छन्।
मादक पदार्थ सेवन गरेर झडप भएकाे र एमाले समर्थक चारजनालाई हेलिकप्टर चार्टर गरेर उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएकाे छ।
सामान्य घाइते भएका ५ जना स्थानीय स्वास्थ्य चाैकीमा उपचार गरेर घर फर्किएका छन्।
उपचारका लागि काठमाडौं ल्याइएका चारजनाकाे स्वास्थ्य अवस्था खतरामुक्त छ ।
सामान्य कुरामा विवादपछि दोहोरो झडप भएको र एक पक्षले अर्कोलाई ढुंगा प्रहार गरी घाइते बनाएको पीडितले जनाएका छन् । घाइते अधिकांशकाे टाउकोमा चोट छ।