काठमाडौं- दलित संघ, ललितपुरकी पूर्वसभापति नानीमैया नेपालीले समानुपातिक सांसद चयनमा ललितपुरमा चरम विभेद भएकोप्रति आपत्ति जनाएकी छन्।
उनले सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै आफ्नो असन्तुष्टि पोखेकी हुन्। उनले आफूले शुरुदेखि नै महिलाका लागि आवाज उठाउने गरेको बताइन्। महिला भएको नाताले पहिला महिलाको आवाज उठाउने गरेको र त्यसपछि दलितको आवाज उठाउने गरेको उनको भनाइ थियो।
कांग्रेसमा उपत्यकाका ३ जिल्लामा प्रतिनिधिभामा जान उपयुक्त र सक्षम दलित जनप्रतिनिधिहरू भए पनि पार्टीले दलितबाट प्रतिनिधिसभामा जाने अवसरबाट आफूहरूलाई वञ्चित गरेको उनको दाबी छ। ‘दलितबाट कांग्रेसमा ललितपुरका ३ क्षेत्रमा केन्द्रलाई हाँक्न सक्ने महिलालगायत जनप्रतिनिधिहरू हुनुहुन्छ। तर, हामीलाई उक्त अवसरबाट वञ्चित गरियो,’ उनले भनिन्।
पूर्वसभापति नेपालीले नेपालमा संघीयता र समानुपातिक दुवै खारेज गर्नुपर्ने माग पनि गरिन्। संघीयता र समानुपातिक व्यवस्था खारेज भए युवा र जनताका चाहना पूरा हुने उनको दाबी छ।
‘समानुपातिक कोटा बोल्न नसक्ने, आफ्नो आवाज सदनमा उठाउन नसक्ने दलित, जनजाति, लोपोन्मुख, चेपाङ, राउटेलगायत पिछडिएका वर्गको आवाज सदनमा पुर्याउन राखिएको हो,’ उनले भनिन्। तर, नेपालमा समानुपातिक कोटाको चरम दुरुपयोग भएको उनको आरोप छ।