काठमाडौं- अघिल्लो पाँचवर्षे कार्यकालमा सत्ताको छिनाझप्टीका कारण तीनजना मुख्यमन्त्री पाएको वागमती प्रदेशमा यसपटक मुख्यतः १० दाबेदार देखिएका छन्। ती सबै दाबेदार अहिले मुख्यमन्त्री हत्याउन काठमाडौं शीर्ष नेताहरूको दैलो ढकढक्याउन व्यस्त छन्।
निश्चित छ, तीमध्ये एकजनाले मुख्यमन्त्री बन्न पाउने छन्। तर, को बन्छन् भन्ने विषय वागमतीमा कस्तो सत्ता समीकरण बन्छ भन्ने कुराले निर्धारण गर्नेछ।
वागमतीमा पाँचदलीय गठबन्धनबाट कांग्रेसले २४, माओवादी केन्द्रले १४ र एकीकृत समाजवादीले ५ सिटमा जितेका छन्। दोलखाको एउटा सिटमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।
११० सदस्यीय प्रदेशसभामा सरकार बनाउन कम्तिमा ५६ सांसद आवश्यक हुने छन्। समानुपातिकतर्फ कुन पार्टीको भागमा कति सांसद पर्छन् भन्ने यकिन नभइसकेकाले यस प्रदेशमा कसले सरकार बनाउँछ भन्ने अन्योल कायम छ। किनकि, यो प्रदेशमा समानुपातिकतर्फ एमाले पहिलो स्थानमा छ।
अहिले नै गठबन्धनका सांसद ४३ पुगिसकेका छन्। र, समानुपातिक सांसदको यकिन भइसक्दा सत्ता गठबन्धनले नै सरकार बनाउने सम्भावना प्रबल देखिन्छ।
गठबन्धनभित्र पनि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी तीनवटै दलमा मुख्यमन्त्रीका प्रबल दाबेदारहरू देखिन्छन्।
कांग्रेसको वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ यसपटक मुख्यमन्त्री दाबी गर्नेमा अग्रपंक्तिमा छन्। किनकि, अघिल्लो कार्यकालमै उनी मुख्यमन्त्री बन्ने पक्काजस्तै थियो। तर, नयाँ निर्वाचन हुन ६ महिनाभन्दा कम समय रहेकाले उनी मुख्यमन्त्री बन्न पाएनन्।
हालका मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा दिएर बानियाँको नेतृत्वमा सरकार बनाउने विषय त्यतिबेला थाती राखिएको थियो। मकवानपुर-२ ‘ख’ बाट निर्वाचित बानियाँ यसपटक कुनै हालतमा पनि मुख्यमन्त्री बनेरै छाड्ने दाउमा देखिन्छन्।
उनी मात्र होइन, प्रतिनिधिसभा सदस्य छाडेर प्रदेशको चुनाव लड्न गएका नुवाकोट-२ ‘ख’ बाट निर्वाचित कांग्रेस नेता बहादुरसिंह लामा पनि बलिया दाबेदार हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा निकटस्थ नेता लामा प्रतिनिधिसभामै चुनाव लड्न चाहन्थे। तर, पार्टीको निर्णय मान्दै प्रदेशसभाको चुनाव लडेका गए। पार्टीको समर्थनमै आफु प्रदेशमा आएकाले मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको उनले बताउँदै आएका छन्।
त्यति मात्रै कहाँ हो र ! काठमाडौं-६ ‘क’ बाट निर्वाचित कांग्रेस नेतृ तथा काठमाडौं महानगरपालिकाकी पूर्वउपमेयर हरिप्रभा खड्गीले पनि आफूलाई मुख्यमन्त्रीको प्रबल दाबेदारका रूपमा अगाडि सारेकी छन्। गत पाँचवर्षे कार्यकालमा वागमतीले मात्रै महिला मुख्यमन्त्री दिएको थियो। खड्गीले नेपालको दोस्रो महिला मुख्यमन्त्री बन्ने चाह सतहमै प्रकट गरेकी छन्।
त्यसो त, माओवादी केन्द्रबाट पनि वागमतीमा मुख्यमन्त्रीका बलिया दाबेदार नभएका होइनन्। तीमध्ये एक हुन्, धादिङ-१ ‘ख’बाट निर्वाचित माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल। अघिल्लो कार्यकालमा उनी दुईपटक प्रदेशमन्त्री भइसकेका छन्।
माओवादीबाटै मकवानपुर-२ ‘क’ बाट निर्वाचित कुमारी मोक्तान, सिन्धुपाल्चोक-२ ‘क’ बाट निर्वाचित युवराज दुलाल, सिन्धुपाल्चोक -१ ‘ख’ बाट निर्वाचित सरल सहयात्री र सिन्धुली-२ ‘ख’ बाट निर्वाचित गंगानारायण श्रेष्ठ पनि मुख्यमन्त्री आकांक्षीको सूचीभित्र परेका छन्।
एकीकृत समाजावादीबाट पनि चितवन -१ ‘ख’ का सांसद कृष्णप्रसाद खनालले मुख्यमन्त्रीको आकांक्षा राखेका छन्।
प्रत्यक्षतर्फ ६६ सिट रहेको वागमतीमा १२ सिटमा विजयी भएर हालसम्म एमाले तेस्रो दल देखिएको छ। अनि, नेमकिपा र हाम्रो नेपाली पार्टीले १-१ सिट जितेका छन्। समानुपातिकतर्फ कति सिट पाउँछ भन्ने विषयले एमालेले वागमतीमा सरकार बनाउने दाबी गर्छ कि गर्दैन भन्ने निर्धारण गर्नेछ। वागमतीमा समानुपातिकतर्फ ४४ सिट छन्।
यदि एमालेले सरकार बनाउने अवस्था आयो भने उक्त पार्टीबाट केन्द्रीय सदस्य तथा चितवन १ (क) बाट निर्वाचित जगन्नाथ थपलिया मुख्यमन्त्रीका दाबेदार रहने देखिएको छ। किनकि, एमालेबाट मुख्यमन्त्रीको आकांक्षा राखेका निवर्तमान सभामुख सानुकुमार श्रेष्ठ काठमाडौं-२ ‘क’ बाट पराजित हुँदा अर्का नेता रामेश्वर फुँयाल पनि काठमाडौं- ३ ‘ख’ बाट पराजित भएका छन्। यस्तै, चितवन-२ ‘ख’ बाट देवीप्रसाद ज्ञवाली र नुवाकोट-२ ‘क’ का उम्मेदवार केशव पाण्डे पनि पराजित भएका छन्।