काठमाडौं- एमालेबाट विभाजन भएर पहिलोपटक आम चुनावमा होमिएको एकीकृत समाजवादीले राष्ट्रिय पार्टीको मान्यता नपाउने निश्चित भएको छ।
समानुपातिकतर्फको १ करोड ३ लाख ८२ हजार ८५ मत गणना सकिँदा उक्त पार्टीले दुई लाख ९४ हजार ६३ मतमै चित्त बुझाएको छ।
समानुपातिक मत गणना अन्तिम चरणतिर रहेको र बदर मत साढे चार लाखको हाराहारीमा रहँदा एकीकृत समाजवादी राष्ट्रिय पार्टी नबन्ने लगभग निश्चित भएको छ।
पछिल्लो चरणमा समानुपातिक मत गणनामा उक्त पार्टीको भोट उल्लेख्य परिमाणमा बढेको पनि छैन। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० सिट जितेको उक्त पार्टी त्यतिमै सीमित रहने देखिएको छ। र, उसले हालसम्म पाएको समानुपातिक मत राष्ट्रिय मान्यता पाउने सातवटा दलले बाँडेर लिने निश्चित भएको छ।
समानुपातिकतर्फ हालसम्म एमालेले २७ लाख ७३ हजार ९९९ मत पाउँदै पहिलो स्थान बनाएको छ। दोस्रोमा कांग्रेसले २६ लाख ४४ हजार २४१ मत पाएको छ।
तेस्रो बन्दै माओवादी केन्द्रले ११ लाख ६१ हजार २५६, चौथो राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९९६ मत पाएका छन्।
यस्तै, समानुपातिकतर्फ पाँचौं दल बनेको राप्रपाले ५ लाख ८५ हजार ९२१, छैटौं जसपाले ४ लाख २० हजार ९३१ र सातौं जनमत पार्टीले ३ लाख ९४ हजार ३४५ मत पाएका छन्।