धनगढी- कैलाली धनगढीमा बिहीबार ग्रेडर दुर्घटनामा मृत्यु भएकी १५ वर्षीया चेतना साउदको शव आफन्तले बुझेका छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार शुक्रबार शव आफन्तले बुझेका छन्। चेतनाका आफन्त र प्रहरी प्रशासनको सहमतिपछि शव बुझाइएको प्रशासनले जनाएको छ। अब शवको पोस्टमार्टम गरेर चेतनाको दाहसंस्कार गरिने छ।
प्रहरीका अनुसार ग्रेडर चालकमाथि मुद्दा दर्ता गर्ने सहमति भएको छ। किशोरीलाई ठक्कर दिने कालिका कन्सट्रक्सनको ना१क ९७५ नम्बरको ग्रेडरका चालक भरतपुर महानगरपालिका–२८ का २७ वर्षीय बिकल कुमालविरुद्व किटानी जाहेरी दर्ता गरेपछि पीडित परिवारले शव बुझेका हुन्।
चालकमाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको र चार दिन म्याद थपेर घटनाको अनुसन्धान अगाडि बढाउने सहमति भएको प्रहरीले जनाएको छ।
बैतडीको डिलासैनी गाउँपालिका ६ की साउदलाई बिहीबार बिहान विद्यालय जाने बेला धनगढी उपमहानगरपालिका ५ मा ग्रेडरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। ठक्करबाट घाइते भएकी साउदलाई चालकले ग्रेडर ब्याक गरेर हत्या गरेको भन्दै विद्यार्थी र स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएपछि प्रहरीले शव उठाउन सकेको थिएन। साँझ घटनास्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गर्दै शव उठाइएको थियो।
प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेकै अवस्थामा शुक्रबार बिहानैदेखि धनगढीमा विद्यार्थी र स्थानीयवासीले प्रदर्शन गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले ३७ सेल अश्रुग्यास र ८ राउन्ड हवाई फायर गरेको छ। प्रदर्शनमा उत्रिएका २३ जना विद्यार्थीसहित केही स्थानीय बासिन्दालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई भने छाडिएको छैन। नियन्त्रणमा लिइएकाहरूलाई रिहाइ गर्न माग गर्दै धनगढीमा अहिले पनि प्रदर्शन जारी छ।