काठमाडौं- माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि शुक्रबार चीन जाँदै छन्।
पुनलाई वंशाणुगत रूपमा रहेको पुरानो रोग जन्डिसले फेरि सताएपछि यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्। यसअघि मंसिर ०७८ मा पनि उनको सोही अस्पतालमा एक महिना उपचार भएको थियो।
चीन-नेपाल नियमित उडान नभएकाले पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुबई, ग्वान्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जनाएको छ।
गत वर्ष चीनमा उपचार गरेर फर्कंदा जन्डिसको मात्रा (बिलरुविन) ९ रहेकामा अहिले बढेर ३५ पुगेको छ। नेता पुनसँगै उपचारका लागि पूर्वसभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला आज चीनको सेनजेन जान लागेका छन्।
काठमाडौंमा रगत, ब्लड प्रेसर, मुटुको चाल, बिलरुविनको मात्रा परीक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहेका पुनलाई चिकित्सकले फलोअपमा अस्पताल नै आउन सल्लाह दिएपछि आज चीन जान लागेका हुन्।
चीन जानुअघि पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत परामर्श गरेका छन्। पछिल्लो समय उनी काठमाडौंमै बसेर आराम गरिरहको छन्।