नयाँदिल्ली- भारत अहमदावादको नरेन्द्र मोदी रंगशालाको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा दर्ता भएको छ।
यो रंगशालामा २९ मे २०२२ मा आयोजित इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल १ लाख १ हजार ५६६ जनाले हेरेका थिए। यो कुनै टी-२० प्रतिस्पर्धामा सबैभन्दा बढी दर्शकको उपस्थिति हो।
भारतीय क्रिकेट काउन्सिल कन्ट्रोल बोर्ड (बीसीसीआई)ले यसलाई गर्विलो क्षण संज्ञा दिएको छ।
गुजरात क्रिकेट एसोसिएसन मातहतको मोटेरा स्टेडियमलाई भारतीय प्रधानमन्त्री मोदीको नाम दिँदै सन् २०२१ मा दोस्रोपटक खुला गरिएको थियो।
१५औं आईपीएलको फाइनल यही रंगशालामा आयोजना गरिएको थियो। सन् १९८२ मा निर्मित मोटेरा स्टेडियममा दर्शकको क्षमता ४९ हजार मात्र थियो। क्षमता विस्तारसहित पुनः खुलेको यस स्टेडियममा हालसम्म १० वटा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा आयोजना भइसकेका छन्। तीमध्ये भारतले इंग्ल्यान्डविरुद्ध खेलेका दुई टेस्ट पनि पर्छन्।
सन् २०२३ मा वान डे क्रिकेट वर्ल्डकप भारतमा हुँदैछ। र, यही रंगशालामा आयोजना गरिँदैछ।