काठमाडौं- ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ।
निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार ८५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको अनुमान छ। त्यसको ८० प्रतिशत गणना हुँदा अब करिब २४ लाख मत उक्त प्रणालीतर्फ गणना हुन बाँकी छ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ स्थानमध्ये हालसम्म १४४ क्षेत्रको मतपरिणाम आइसकेको छ। हाल गणना भइरहेका छ निर्वाचन क्षेत्रको सोमबारसम्ममा सम्पन्न हुने आकलन छ। बाजुराको बूढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पिपलचौर मतदान केन्द्रमा १० मंसिरमा पुनः मतदान सम्पन्न भएकाले गणना हुन बाँकी छ।
दोलखा र स्याङ्जामा सत्तापक्ष तथा प्रतिपक्षबीच विवादका कारण मतपेटिका संकलन भइसके पनि मतदानस्थलमा पुनः मतदान गराउने या मतगणना शुरु गर्ने भन्ने विषयमा आयोगको निर्णयको प्रतीक्षा गरिएको छ।
समानुपातिकतर्फको जारी मतगणनामा एमालेले २४ लाख १३ हजार २२२ मत प्राप्त गरी पहिलो स्थानमा छ। दोस्रो स्थानमा रहेको कांग्रेसले २२ लाख ९४ हजार ९८३ मत प्राप्त गरेको छ। अपराह्न तीन बजेसम्मको विवरणअनुसार समानुपातिकतर्फको मतमा माओवादी केन्द्र तेस्रो स्थानमा छ। उक्त पार्टीले १० लाख पाँच हजार ६७९ मत प्राप्त गरेको छ।
चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख ८३ हजार ५२२ मत प्राप्त गरेको छ। पाँचौँ स्थानमा रहेको राप्रपाले पाँच लाख १३ हजार ९११, छैटौँ स्थानमा रहेको जसपाले तीन लाख ४४९ र सातौँ स्थानमा रहेको एकीकृत समाजवादीले दुई लाख ३५ हजार ३७५ मत प्राप्त गरेका छन्।
यस्तै, जनमत पार्टीले दुई लाख ३४ हजार १२७, नागरिक उन्मुक्ति पार्टीले दुई लाख दुई हजार ७९, लोसपाले एक लाख २२ हजार ५५७, नेमकिपाले ७० हजार ३७१, हाम्रो नेपाली पार्टीले ४९ हजार ६२७, मंगोल नेसनल अर्गनाइजेसनले ४४ हजार २०८ र राष्ट्रिय जनमोर्चाले ४३ हजार ९२६ मत प्राप्त गरेका छन्।
समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका कूल ४७ दलमध्ये अन्तिममा नेस्नलिस्ट पिपल्स पार्टीले एक हजार ५०४ मत प्राप्त गरेको छ।