काठमाडौँ । सरकारले चितवनको गैँडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई तीन अर्बभन्दा बढीको ठेक्का दिएको छ ।
लुम्बिनी प्रदेशको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईले आइतबार कांग्रेस निकट प्रभावशाली ठेकेदार रमेश शर्मा र सहदेव खड्काको संयुक्त कम्पनी (शर्मा सगुन जेभी)लाई आयोजनाको पहिलो चरणको ठेक्का दिएको हो ।
खड्का चितवनको भरतपुरको नालीमा परेर गैँडाको मृत्यु प्रकरणमा मुछिएका ठेकेदार हुन् । उनीमाथि प्रहरीले ९ महिनाअघि पक्राउ पूर्जी जारी गरेको थियो । तर, उनी हालसम्म पक्राउ परेका छैनन् ।
गत वर्ष माघ ९ मा चितवनको भरतपुरमा निर्माणाधीन ६ लेनको गोन्द्राङ–पुलचोक सडक खण्डमा बनाइएको नालीमा परेर गैँडाको मृत्यु भयो । घटनामाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझायो ।
चितवन राष्ट्रिय निकुञ्जले घटनाका दोषी ठहर गर्यो । माघ १३ गते खड्काविरुद्ध निकुञ्जले पक्राउ पुर्जीसमेत जारी गर्यो । तर, उनी पक्राउ परेनन् । राजनीतिक पहुँचका कारण देखाउँदै उनलाई उन्मुक्ति दिइएको आरोप संरक्षणकर्मीले लगाएका थिए ।
उनै ठेकेदारलाई तीन अर्ब ८ करोड रुपैयाँको ठेक्का दिएर लुम्बिनी प्रदेश सरकारले पुरस्कृत गरेको हो ।