काठमाडौँ । पोर्चुगलले बिहीबार अफ्रिकी टोली घानामाथि ३-२ को जित निकाल्दै कतार विश्वकपमा सुखद सुरुवात गरेको छ ।
यस जितसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले विश्वकपका पाँच फरक संस्करणमा गोल गर्ने कीर्तिमान बनाएका छन् ।
रोनाल्डोले सन् २००६ जर्मन विश्वकपदेखि लगातार गोल गरेका छन् । घानाविरुद्ध रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए । घानासँगको गोलसँगै विश्वकपमा उनको गोलसंख्या आठ पुगेको छ ।
दोहास्थित रंगशाला ९७४ मा प्राप्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै ६५ औँ मिनटमा अग्रता दिलाए । घानाका कप्तान आन्द्रे आयुले ७३ औँ मिनेटमा बराबरी गोल गरे ।
जोआवो फेलिक्सले ७८ औँ मिनेटमा गोल गर्दै पोर्चुगलको अग्रता २–१ को बनाए । त्यसको दुई मिनेट नबित्दै राफेल लियोले गोल गरेका थिए । ओस्मान बुकारीले इञ्जुरी समयमा गोल गरे पनि घानाले हार टार्न सकेन ।
जितसँगै समूह ‘एच’मा पोर्चुगलले तीन अंक जोडेको छ । घाना अंकविहीन बन्न पुगेको छ ।