काठमाडौँ । मतदान सुरू हुन १५ घण्टा मात्रै बाँकी हुँदा सप्तरीमा मतदाता शिक्षा दिन कोही पुगेका छैनन् । मतदाता शिक्षा दिने गाउँ टोलमा नपसेपछि भोलि कसरी मतदान गर्ने भनेर अलमलमा परेको राजविराज नगरपालिका २ राजदेवी टोलकी सकिना खातुनले बताइन् ।
उनले भनिन्, ‘यसपालि मत कसरी हाल्ने ? थाहा छैन, पहिले त मतदाता शिक्षा लिएर घरघर आइपुग्थ्यो, यसपालि त कोही आएनन् ।’
राजविराज ४ मस्जिद टोलकी सुनिताकुमारी परियारले पनि मतदान गर्ने प्रक्रिया बिषयमा अनभिज्ञ रहेको बताइन् । उनले भनिन्, ‘मलाई भोट हाल्नु भनेर त धेरै आए । तर, मत कसरी हाल्ने कसैले सिकाएनन् ।’
राजविराज २ तितरीगाछीकी ८० वर्षीया सावित्री देवी देवले मतदाता शिक्षा नदिएकाले भोट खसाल्न जानु की नजानु भएको बताइन ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले पनि मतदाता शिक्षाप्रति चासो नदेखाएकाले मत हाल्ने पूर्वसन्ध्यामा मतदाता मतदान गर्ने तरिकाबारे अन्योलमा रहेको स्थानीय बुद्धिजीवीको भनाइ छ ।