काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा झापा ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने भएको छ । सो क्षेत्रमा नेकपा एमालेबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका तर्फबाट खगेन्द्र अधिकारी उम्मेदवार छन् ।
वि.सं. ०७४ मा सम्पन्न निर्वाचनमा ओली र अधिकारीबीच नै प्रतिस्पर्धा भएको थियो । त्यतिबेला अध्यक्ष ओलीलाई माओवादी केन्द्रको साथ थियो । उनले कांग्रेस उम्मेदवार अधिकारीलाई २८ हजार ८४२ मतान्तरले पराजित गरेका थिए । सो निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा होमिएको थियो ।
ओलीले ०७४ सालमा ५७ हजार १३९ तथा अधिकारीले २८ हजार २९७ मत प्राप्त गरेका थिए । अघिल्लो निर्वाचनमा पनि एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन थियो । यसपटक उक्त साथ कायमै छ । झापा ५ मा स्वतन्त्रसहित २५ जनाको उम्मेदवार रहेका छन् ।
उम्मेदवार तथा दलका प्रतिनिधि मतदातालाई रिझाउन घरघरमा गइरहेका छन् । संविधानसभाको पहिलो निर्वाचन ०६४ बाहेक ०४८ सालयता भएका कुनै पनि निर्वाचनमा एमाले अध्यक्ष ओली पराजित भएका छैनन् । उनको झापा आगमन र घरदैलो कार्यक्रम बाक्लिएको छ ।
०४८ यता ओलीले यो निर्वाचन क्षेत्रमा छुट्टै विरासत कायम गरेका छन् । ०६४ को संविधानसभाको निर्वाचनमा भने उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार विश्वदीप लिङ्देनसित पराजित भएका थिए । ओली पाँचपटक यस क्षेत्रबाट निर्वाचित भइसकेका छन् ।
झापा ५ मा गत स्थानीय तहमा कमल र गौरीगञ्ज गाउँपालिकामा कांग्रेसले प्रमुख पद जितेको थियो । एमालेले गौरादह नगरपालिकामा मात्रै जितेको थियो । स्थानीय तह निर्वाचनको मत परिणामअनुसार यहाँ एमाले विगतको तुलनामा कमजोर आकलन गरिएको छ ।
वडागत रुपमा भने एमाले बलियो छ । क्षेत्र नम्बर ५ भित्र पर्ने चार पालिकामा २९ वडा छन् । गौरादह नगरपालिकाको वडा नम्बर एकदेखि सातसम्म एमालेले चार वटामा जितेको थियो । कांग्रेसले दुई वडामा तथा एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।
गौरीगञ्ज गाँउपालिकामा पर्ने चार वडा वडा ३, ४, ५ र ६ मध्ये तीनमा एमालेले जितेको थियो । दमक नगरपालिकाका १० वडामध्ये सातमा एमाले तथा दुईमा कांग्रेस र एउटामा राप्रपा विजयी भएको थियो ।
यस्तै। एमालेले कमल गाउँपालिकामा ३, ४, ६ र ७ मा वडाध्यक्ष जितेको थियो भने कांग्रेसले १, माओवादी केन्द्रले एउटा तथा एकीकृत समाजवादीले एउटामा जितेको थियो । स्थानीय तहमा एमालेले वडागत मत ४१ हजार छ सय १९ पाएको छ भने कांग्रेसले २२ हजार, माओवादी केन्द्रले १० हजार सात सय ८८ र राप्रपाले आठ हजार तीन सय ५९ तथा एकीकृत समाजवादीले एक हजार नौ सय ८८ मत पाएको छ ।
सो क्षेत्रमा राप्रपालाई जोड्ने हो भने एमाले–राप्रपा गठबन्धनले प्राप्त गरेको मत ४९ हजार नौ सय ७८ छ । सत्ता गठबन्धनको मत ३४ हजार सात सय ७६ छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यस निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मतदाता छन् । यहाँ एक लाख ५४ हजार दुई सय ८९ मतदाता छन् । दुई अन्य, पुरुष मतदाता ७६ हजार ६७ र महिला मतदाता ७८ हजार दुई सय २० छ ।
यस निर्वाचन क्षेत्रमा मतदानस्थल ६१ तथा मतदान केन्द्र १७६ कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । आगामी निर्वाचनको मिति नजिकिँदै जाँदा यो क्षेत्रको चर्चा बढ्दै गएको छ ।