काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले निर्वाचन प्रतिस्पर्धात्मक भए पनि यसलाई उत्सवका रूपमा लिनु पर्ने बताएका छन् ।
सुनसरीको भोक्राहा गाउँपालिका १ स्थित वाम लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचार प्रसार कार्यालयको उद्घाटन कार्यक्रममा उनले भने, “जहिले पनि जनताको चाहना र आवश्यकतालाई शिरोधार्य गरेर काम गरिरहेको छु, सामाजिक एकतालाई धमिल्याउने र विखण्डता ल्याउने विचार पोख्ने नेता तथा दलसँग सावधान रहनुपर्छ ।”
सुनसरी निर्वाचन क्षेत्र नं ४ का उम्मेदवारसमेत रहनुभएका मन्त्री कार्कीले भूमिहीनको आवाजलाई मुखरित गर्न र लोकतन्त्रका लागि आफूले जेल जीवन बिताएको प्रसङ्ग उल्लेख गरे । उनले भने, “राजनीति मेरा लागि व्यवसाय र पेशा होइन, सेवा हो ।”
मन्त्री कार्कीले खोक्रो र झुट्टा आश्वासनले राजनीतिक संस्कार नबस्ने भन्दै आफूले गर्न सक्ने कुरा मात्र बोलेको स्पष्ट पारे । आफ्नो निर्वाचन क्षेत्रमा आइटीसँग जोड्ने गरी स्मार्ट विद्यालय सञ्चालनमा ल्याउने उनको प्रतिबद्धता छ ।
निर्वाचन क्षेत्र नं ४ (२) का उम्मेदवार हाजी डा. इस्राइल मन्सुरीले समाज र राष्ट्रको मुहार फेर्न गठबन्धन दलका उम्मेदवार जित्नु पर्ने बताए । उनले जनताले कसैको बहकावमा नलागी सच्चा र इमान्दार उम्मेदवारलाई जिताउन सकेमा मात्र यस क्षेत्रको सोचेअनुसारको विकास हुने दाबी गरे ।