कञ्चनपुर । जिल्लाको लालझाडी गाउँपालिका ३ का लक्ष्मण चौधरी बुधबार साँझ गड्डाचौकी नाकामा भेटिए । दसैँ तिहार मनाउन गाउँ आएका उनी पर्व सकिएपछि पुनः कामको खोजीमा भारतको बद्रीनाथतर्फ जान लागेका हुन् ।
चौधरीसँगै बेलौरी र लालझाडीका १७ युवा रोजगारीका लागि भारत गएका हुन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि भोट माग्न दलका उम्मेदवार घरदैलोमा गएरहेका बेला गड्डाचौकी नाकाबाट थुप्रै युवा रोजगारीका लागि भारत जाँदै गरेका भेटिने गरेका छन् ।
गड्डाचौकी नाकामा पछिल्लो केही दिनयता कामका लागि भारत जानेको संख्या बढेको छ । ‘चुनाव आएर हामीलाई के नै हुन्छ र नेताहरु भोट मागेपछि फर्किदैनन्,’ रोजगारीको खोजीमा भारत जान लागेका चौधरीले भने, ‘हामीलाई त भारत नगई सुख छैन, नत्र परिवार कसरी पाल्ने ।’
उनले चुनावमा मात्रै आश्वासन दिने नेताले स्वदेशमै रोजगारीको व्यवस्था गर्न नसक्दा भारत जानु पर्ने बाध्यता रहेको बताए । ‘आफ्नै ठाउँमा रोजगारी पाएको भए किन भारत जानुपथ्र्यो र,’ उनले भने, ‘भारत नगई खानपीनको जोहो गर्न सकिँदैन ।’
आर्थिक अवस्था कमजोर भएकाले पढाइ छाडेर रोजगारीका लागि भारत जान लागेका चौधरी उतै मजदुरी गर्दै आएका छन् । ‘भारतको बद्रीनाथमा हाम्रो गाउँका २५–३० जना मजदुरी गर्छौं,’ उनले भने, ‘चाडपर्व मनाएर फेरि भारत जान लागेका छौँ, भोट हाल्न मन त थियो बाध्यताले दिएन ।’
चौधरीसँगै कामको खोजीमा जान लागेका बेलौरी नगरपालिका ५ का धर्मा चौधरी पनि स्वदेशमा रोजगारीको सिर्जना नहुँदा भारतको भर पर्नु परेको बताउँछन् ।
‘त्यहाँ गएर मजदुरी गर्न साह्रै दुःख हुन्छ, तर जानै पर्ने बाध्यता छ,’ उनले भने, ‘अहिले पनि नेताहरू रोजगारी दिन्छौँ भनेर गाउँमा भोट माग्दै छन, हेरौँ यसपालि के गर्छन् ।’
नेताहरू अहिले गाउँमा भोट माग्न आउँदा आफ्नो लागि स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार तिहार सकिएपछि रोजगारीका लागि भारत जानेको संख्या बढेको छ । प्रहरीको तथ्यांकअनुसार मंगलबार ८९ जना रोजगारीका लागि भारत गएका छन् । बुधबार सो संख्या बढेर एक सय ८० पुगेको छ ।