काठमाडौं- हालै एउटा अनुसन्धान गरिएको थियो जसमा अर्को महामारी हिमनदी पग्लिएका कारण निम्तिने चेतावनी दिइएको थियो ।
अनुसन्धानमा कोरोनाका सबै प्रकारका खतरनाक भाइरस र ब्याक्टेरिया हिमनदीमा लुकेको भनिएको थियो । वैज्ञानिकले यी हिमनदीमा भाइरस पाउन थालिसकेका छन् । बरफ पग्लिरहेका छन् र यहाँबाट प्राचीन जीव निस्किन थालेका छन् । यी प्राचिन भाइरसको फिर्ती हाम्रो लागि राम्रो होइन । बरफ पग्लिएपछि बाहिर आएका यी भाइरस वातावरणमा फैलिन सक्छन् ।
माइक्रोबायोममा प्रकाशित शोधमा अनुसन्धानकर्ताले तिब्बती पठारको गुलिया आइस क्याम्पबाट दर्जनौँ अचम्मका भाइरसको पहिचान गरेका छन् । यो भाइरस करिब १५ हजार वर्ष पुरानो बताइएको छ । शोधका मुख्य लेखक तथा ओहियो स्टेट युनिभर्सिटीका माइक्रोबायोलोजिस्ट जि पिङ झोङले यी हिमनदी बिस्तारै बनेको बताए ।
पछिल्ला अध्ययनबाट के पत्ता लागेको छ भने सुक्ष्मजीव समुदायको सम्बन्ध, वातावरणमा धुलो र आयन सान्द्रतामा परिवर्तनसँग जोडिएको हुन्छ । यसले त्यतिबेलाको जलवायु र पर्यावरणीय परिस्थितिको पनि संकेत दिन्छ । चीनमा समुद्र सतहबाट ६.७ किलोमिटर उचाइमा रहेको पुरातन समयका यी जमेका हिमनदीमा ३३ मध्ये २८ वटा भाइरस पहिले कहिल्यै नदेखिएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
ओहियो स्टेट युनिभर्सिटीका माइक्रोबायोलोजिस्ट म्याथ्यू सुलिवनका अनुसार यो यस्ता भाइरस हुन् जुन कठिन वातावरणमा हुर्किएका होलान् । ज्ञात भाइरसको डाटाबेसले यी भाइरसको जेनेटिक सिक्वेन्सको तुलना गर्दा बरफमा भेटिएका सबैभन्दा धेरै भाइरस ब्याक्टिरियोफेज भाइरस थिए जुन मिथाइलोब्याक्टेरियमलाई संक्रमित गर्छन् । मिथाइलोब्याक्टेरियम ब्याक्टेरिया बरफभित्र मिथेन चक्रका लागि महत्वपूर्ण हुन्छन् ।