काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पारेका छन् ।
‘प्रतिगमन शक्तिलाई पराजित गर्नु पर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुको विकल्प छैन,’ उनले भने ।
व्यास नगरपालिका २ मा निर्वाचन सम्पर्क कार्यालयको आज शुभारम्भ गर्दै उनले गठबन्धनलाई दिगो रूपमा अगाडि लैजान सकिए मात्र संविधानको रक्षामा सहयोग पुग्ने दाबी गरे ।
व्यवस्था परिवर्तन भए पनि यसको सही व्यवस्थापन हुन नसकेकाले जनताको अवस्था बदलिन नसकेको नेता पौडेलको भनाइ थियो ।
हरेक नागरिकमा अनुशासन र आचरणमा राख्ने पद्धति आवश्यक परेको जनाउँदै उनले लोकतन्त्रको उपयोग गर्न सिक्नुपर्ने धारणा राखे । गाउँमा रोजगारी र आम्दानीको अवसर सिर्जना गर्नु पर्ने अहिलेको चुनौती रहेको र त्यसका लागि आफू क्रियाशील रहेको उनले बताए ।