झापा : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आज प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं १ बाट उम्मेदवारी मनोनयन दर्ता गराए।
काठमाडौँबाट भद्रपुर विमानस्थल हुँदै मेचीनगरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा सिधै आएर उनले अपराह्न ३ः३० बजे उम्मेदवारी दर्ता गराएका हुन।
उनको प्रस्तावकका रूपमा नेपाली कांग्रेसका जिल्ला उपसभापति केशवराज पाण्डे र समर्थकमा क्षेत्रीय सभापति इन्द्रकुमार बुढाथोकी रहेका छन। गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शर्मालाई र्यालीसहित उम्मेदवारी दर्ताका लागि ल्याइएको थियो।
यसैगरी नकेपा (एमाले) झापा जिल्ला इन्चार्ज अग्नि खरेलले प्रतिनिधिसभा सदस्यमै उम्मेदवारी मनोनयन गराएका छन। उनको प्रस्तावकमा पार्टीका केन्द्रीय सल्लाहकार सदस्य विष्णु प्रर्साइ र समर्थकका रूपमा पूर्व प्रदेश सदस्य श्रीप्रसाद मैनाली रहेका छन।
क्षेत्र नं १ मा एक लाख २० हजार तीन सय ७५ मतदाता रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ।