किभ- युद्धग्रस्त युक्रेनमा घरको बेसमेन्टमा दुई पाल्तु चितुवाका साथ बसिरहेका एक भारतीय चिकित्सकले अन्ततः दुवै जंगली जनावरसँग अलग हुनु परेको छ।
गत फेब्रुअरीमा रुसले युक्रेनमाथि अत्याचारपूर्ण आक्रमण थालेपछि भारतीय डाक्टर गिरिकुमार पटेल लुहान्स्कस्थित आफ्नै घरमा अड्केका थिए। उनले पालिरहेका दुई चितुवालाई त्यत्तिकै छाडेर जान नसक्ने बताउँदै उनी घरको बेसमेन्टमा ती चितुवाका साथ बसिरहेका थिए।
अविवाहित गिरिकुमार हड्डीका डाक्टर हुन्। युद्ध शुरु हुनुअघि उनी लुहान्स्को एक सानो अस्पतालमा काम गर्थे। ४२ वर्षका उनले सन् २०१६ मा युक्रेनको नागरिकता लिएका थिए। र, राजधानी किभको एक चिडियाखनाबाट दुई वर्षअघि ती दुई जंगली जनावर खरिद गरेर घरमै पाल्दै आएका थिए।
तीमध्ये एउटा २४ महिनाको भाले चितुवा हो। र, यो भाले चितुवा र पोथी जगुवारको दुर्लभ हाइब्रिड सन्तान हो। उनको घरमा १४ महिनाकी एक पोथी ब्ल्याक प्यान्थर पनि छ।
युद्ध शुरु भएको लामो समयसम्म डा. गिरिकुमारले यी दुवै जनावरका साथ घरमै बिताए। तर, दुई महिनाअघि उनीसँग पैसा सकियो। बाध्यतावस, छिमेकी मुलुक पोल्यान्ड गए। त्यहाँ काम गरेर पनि उनले ती जनावरलाई खाना खुवाउने प्रबन्ध गरिरहे।
उनी काम गर्ने युक्रेनको अस्पताल रुसले बम खसालेर ध्वस्त बनाइदिइसकेको छ। अहिले डा. गिरिकुमार पोल्यान्डको राजधानी वार्सास्थित होस्टेलको डोरमेट्रीमा अन्य युक्रेनी शरणार्थीहरूसँगै बस्छन्। उनी त्यहाँ पैसा कमाउने प्रयासमा छन्। तर, उनको मन युक्रेनमै छ, जहाँ उनका दुई चितुवा घरमा छन्।
उनको घर रहेको स्वाभतोफ इलाकामा दुई सातादेखि इन्टरनेट अवरुद्ध बनेको छ। र, अहिले आफ्ना पाल्तु जनावरको खबर थाहा पाउन स्थानीय एक किसानलाई दैनिक फोन गर्छन्।
युक्रेनमा दुई चितुवाका साथ घरकै बेसमेन्टमा फसे एक भारतीय डाक्टर
उनी ती जनावरलाई घरबाट बाहिर निकाल्न चाहन्छन्। तर, युद्ध यसरी चर्केको छ कि त्यो असम्भव छ।
यसबीचमा उनले खर्च जुटाउन आफ्नो केही जमिन बिक्री गरे। दुई अपार्टमेन्ट, दुई कार, मोटरसाइकल र क्यामेरा पनि बिक्री गरे। ती सबैको गरी उनलाई करिब एक लाख डलर मात्र आम्दानी भयो।
उनले आफू र जनावरको जीवन बचाउन दैनिक ३०० डलर खर्च गर्नुपर्छ। दुवै जनावरलाई दैनिक पाँच किलो मासु खुवाउनैपर्छ। घर छोड्दा उनले ती जनावरलाई रेखदेख गर्ने व्यक्तिलाई २४ सय डलर तीन महिनाको तलब अग्रिम भुक्तानी गरेर निस्केका थिए। निस्किने क्रममा रुसी सेनाले उनलाई तीन दिनसम्म सोधपुछ गरेर छाडेका थिए।
पाटिल भारतको आन्ध्रप्रदेशमा जन्मेका हुन्। उनका मातापिता अहिले पनि आन्ध्रप्रदेशमै बस्छन्। पोल्यान्ड पुगेर उनले किभस्थित भारतीय दूतावासमा फोन गरे। अनि आफ्ना जनावरलाई भारत लैजान मद्दतका लागि आग्रह गरे। दूतावासका अधिकारीहरूले जवाप दिए, ‘दूतावासले जंगली जनावरको मामिला हेर्दैन।’
यसै साता उनले वार्साको एक चिडियाखाना भ्रमण गरे। आफ्ना दुई जनावरलाई त्यहीं ल्याएर राखिदिन आग्रह गरे। ‘म कुनै तरिकाबाट आफ्ना जनावरलाई त्यहाँबाट बाहिर निकाल्न चाहन्छु। भारत सरकारले यसमा मद्दत गरेमा भारतकै कुनै चिडियाखानामा लगेर छाड्न चाहन्छु,’ उनले भने, ‘तिनीहरूको जीवन बचाउनु मेरो दायित्व हो।’