गण्डकी : गण्डकी प्रदेशको पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा डडेल्धुराका १३ खलाडीले खेल्न पाउने भएका छन्। सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै यहाँका १३ खेलाडी प्रतिस्पर्धा गर्न छनोट भएका हुन्। राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि डडेल्धुराले १४ खेलमा सहभागिता जनाउने तयारी गरेका भए पनि १३ खेलाडी पाँच खेलका लागि छनोट भएका हुन्।
भलिबल, ह्यान्डबल, तेक्वान्दो, उसु, एथलेटिक्सतर्फ हाइजम्प र दौड प्रतियोगितामा डडेल्धुराका खेलाडीले प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डम्बरसिंह भण्डारीले जानकारी दिए। कैलाली र कञ्चनपुरका खेलमैदान तथा रङ्गशालामा भएका प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका प्रमुख भण्डारीले बताए।
छनोट हुनेमा सुदूरपश्चिम प्रदेशको राष्ट्रिय टोलीमा भलिबलतर्फ डडेल्धुराका सन्तोष खत्री र वीरेन्द्र विक, ह्यान्डबलमा विशाल बस्नेत, तेक्वान्दोमा झरना थापा, उसुमा नवीन गाहामगर, अस्मिता गाहामगर, रोहित गहामगर, सृजना रखालमगर र ललिता गुरुङ छनोट भएका खेलकुद विकास समितिले जनाएको छ।
यसैगरी एथलेटिक्सतर्फ हाइजम्पमा मनोज विष्ट र आठ सय मिटर दौडमा माया साउद, छपेन्द्र नाथ र करुणा ऐडी छनोट भएको जिल्ला खेलकुद विकास समतिले जानकारी दिएको छ।