काठमाडाैं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको संरक्षकबाट नै संविधान मिच्ने काम भएकाे बताएका छन।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) काे तेस्रो राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको पालक र संरक्षकबाटै संविधान मिच्ने काम भएको बताएका हुन।
राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै उनले भने, ‘मैले मूर्तरूपमा भन्दै छु । अहिले संविधान खुलेयाम मिच्ने काम भयो । संविधानको पालक र रक्षकबाट नै जानी बुझी मिचियो । नजानेर वा झुक्किएर होइन। जानी बुझी संविधान मिच्ने काम भएको छ, यो सामान्य होइन । यो हजारौंको बलिदानबाट प्राप्त उपलब्धि, लाखौँ लाख किसानहरू उत्पीडित समुदायको आन्दोलनबाट प्राप्त उपलब्धि खोस्ने, अपहरण गर्ने षडयन्त्रकै एउटै कडी हो ।’
संविधान र व्यवस्थामाथि गत सालदेखि नै सुरु भएको प्रतिगमन अझै नरोकिएको बताउँदै उनले संविधान मिच्ने प्रवृत्तिलाई जनता र परिवर्तनकारी शक्तिको एकताले मात्रै परास्त गर्न सकिने बताए।
‘जुन प्रतिगमन गत सालदेखि सुरु भएको थियो । त्यो रोकिएको छैन । त्यसलाई नयाँ नयाँ स्वरूपमा ल्याउने जमर्को भई राखेको छ’, प्रचण्डले भने, ‘हामीले आफ्नो सतर्कता गुमायौं भने हामीले आफूभित्रको एकतालाई कमजोर हुन दियौं । हामीले आम किसान मजदुर, सम्पूर्ण उत्पीडित वर्ग समुदायलाई आन्दोलित गरी राख्ने जागरुक गरी राख्ने संगठित गरी राख्ने अभियान राक्यौं भने जुनसुकै बेला प्रतिगमन हुने खतरा छ ।’