काठमाडौं- पोखरामा हट एयर बलुन १ अक्टोबर (१५ असोज)देखि पुनः सञ्चालनमा ल्याइँदैछ ।
कोरोना कहर पछि बन्द रहेको बलुन उडान पुनः सुचारुका लागि यूरोपबाट पाइलटसमेत नेपाल आइसकेको बलुन नेपालका सञ्चालक विक्रम बाडेले जानकारी दिए ।
‘हट एयर बलुनका पाइलट तोमस ओलेभसोनस नेपाल आइसकेका छन् । उनी यूरोपेली मुलुक लुथानियाका नागरिक हुन्,’ उनी भन्छन् ‘नेपालमा हट एयरको पाइलट नभएकाले हामीले युरोपबाट बोलाउनु परेको हो।’
बलुनमा एक पटकमा १० जनासम्म राखेर उडान गरिन्छ । उडान अवधि ३० देखि ४० मिनेट हुन्छ । यसका लागि नेपालीलाई ८ हजार र विदेशीलाई एक सय डलर शुल्क तोकिएको बाडेले जानकारी दिए ।
बलुन नेपालले सन् २०१८ नोभेम्बरबाट हट एयर बेलुन उडान सेवा शुरु गरेको हो । तर, कोरोना कहरका कारण केही समय बन्द भएको थियो । आगामी दिनमा यसलाई निरन्तरता दिइने बाडे बताउँछन् । बर्खाका तीन महिना असार, साउन र भदौ बाहेक हरेक महिना मौसम अनुकूल भएको दिन उडान भर्ने योजना रहेको उनले जानकारी दिए ।
हट एयर बलुन फेवातालको माथिल्लो किनार पामेबाट उडान शुरु गरिने छ । फेवा किनारबाट तीनदेखि चार हजार मिटर उचाइ लिँदै गर्दा सुन्दर पोखरा उपत्यका र आसपास छर्लङ्गै देखिन्छ । बलुनबाट सराङ्कोट डाँडा नाघेपछि अन्नपूर्ण हिमशृंखलाको अदभूत दृश्यावलोकन गर्न सकिन्छ ।