काठमाडौं : राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र नेपाल स्वास्थ्य पत्रकार मञ्चले ‘एचआइभी तथा यौन रोग सम्बन्धि लाञ्छना र भेदभाव न्यूनिकरण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिहीबार (आज) काठमाडौंमा सम्पन्न गरेको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले एचआइभी तथा यौन रोग लागेकाहरुलाई भेदभाव गर्न नहुने बताएका छन् । कार्यक्रममा मन्त्री खापुङले एचआइभी तथा यौन रोगबारे सर्वसाधारणमा चेतना अभावका कारण भेदभाव हुने गरेको जनाए।
समाजमा एड्स तथा यौन रोग, कुष्टरोग, क्षयरोगका बिरामीलाई अझै पनि लाञ्छना र भेदभाव गर्ने गरेको पाइएको र यी रोगका विषयमा जनचेतना फैलाउन आवश्यक रहेको उनको तर्क छ ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्दकी निर्देशक डा. सुधा देवकोटाका अनुसार नेपालमा वार्षिक ६८० जना नयाँ एचआइभीका सङ्क्रमित थपिने गरेका छन् भने एड्सबाट वार्षिक ५१० जनाको मृत्यु हुने गरेको छ ।
नेपालमा कुल एचआइभी सङ्क्रमित ३० हजार छन् । ती मध्ये १६ हजार ४०० पुरुष र १३ हजार ६०० महिला तथा जन्मजातै सङ्क्रमित १४ वर्ष उमेरसमूहका बालबालिका १ हजार २०० जना छन् ।
यसैगरी, राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ अनुसार एड्स इपिडेमिकलाई २०३० सम्म अन्त्य गर्ने सरकारको लक्ष्य छ । जसअनुसार सन् २०२६ सम्म एचआइभी सङ्क्रमितमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, सङक्रमण पुष्टि भएकाका ९५ प्रतिशतको उपचार गर्ने र एआरटी सेवा लिइरहेका सङ्क्रमितमध्ये ९५ प्रतिशतको भाइरल लोड कम गर्ने लक्ष्य छ।