कञ्चनपुर- कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ।
Advertisement
शुक्लाफाँटा नगरपालिका-८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरीका डीएसपी चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा रौतहट घर भई कैलाली अत्तरिया बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारत बिहारका ३३ वर्षीय पिन्टु साह, २५ वर्षीय राजकिशोर साह र २७ वर्षीय विकासकुमार साह छन्।
‘बच्चा चोर्न लागेको भन्दै गाउँलेले चारै जनालाई घेरा हालेका रहेछन्, हामीलाई खबर गरेपछि नियन्त्रणमा लिएका हौं,’ डीएसपी शाले भने। पक्राउ परेकाहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
शुक्लाफाँटा-८ का ६ वर्षीय बालकलाई मिठाइ दिएर ललाइफकाई जंगलतर्फ लैजान खोज्दा चारैजनालाई घेरा हाली नियन्त्रणमा लिएको स्थानीय बासिन्दाले बताएका छन्।