काठमाडौं- प्रहरी स्रोतका अनुसार काठमाडौं गोठाटारमा गोली प्रहार गरिएका लाल मोहम्मद भएको आकलन छ।
उनी इल्ताफ हुसेन नामक व्यक्तिसँग जोडिएको खुलेको प्रहरी स्रोत बताउँछ। इल्ताफ र लाल मोहम्मद मिलेर २० असार ०६४ मा बानेश्वरबाट अनामनगर जाने वागमती नदीको पुल नजिक बारा कचहरवाका बलराम पटुवारको हत्या गरेका थिए। त्यसपछि फरार दुवै लागूऔषध र भारतीय नक्कली नोट कारोबारमा संलग्न रहेकै अवस्थामा समातिएका थिए।
लाल मोहम्मदमाथि पटक-पटक हत्या प्रयास भएको थियो। उनले भारतीय सुटरहरू काठमाडौं आएर हत्या प्रयास गरेको भन्दै प्रहरीमा सुरक्षाका लागि निवेदन नै दिएका थिए। २० असोज ०७४ मा उनको हत्या गर्न आएका भारत रक्सौलका दीपककुमार श्रीवास्तव र रञ्जनकुमार यादव पक्राउ परेका थिए।
बलराम पटुवाको हत्या तथा लागूऔषध र नक्कली नोटको कारोबार मुद्दामा आठ वर्ष जेल बसेर उनी ०७३ सालमा छुटेका थिए। र, बौद्धमा गार्मेन्ट व्यवसाय गर्दै आएका थिए। त्यही पुरानो दुष्मनीका कारण सोमबार लाल मोहम्मदमाथि गोली प्रहार भएको प्रहरीको आकलन छ।