काठमाडौं- ‘हामी बनाउँछौं हाम्रो देश’ अभियानले देशका ७५३ वटै पालिकामा कृषि कम्पनी स्थापना गर्ने घोषणा गरेको छ।
अभियानले सकारात्मक टिसर्ट क्रान्तिमार्फत मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ। अभियानका अध्यक्ष हरि अधिकारीले देशमा विद्यमान समस्या समाधान गर्न दलहरू उदासिन बनेको गुनासो पोखे। उनले देशमा कृषि क्रान्तिको नारा घन्किएको २०औं वर्ष भएको भन्दै अहिलेसम्म क्रान्ति किन भएन भनेर प्रश्न गरे।
उनले देश बनाउन सबै युवा पार्टीको विचारभन्दा माथि उठ्नुपर्नेमा जोड दिए। अभियानले कृषि कम्पनी खोलेसँगै निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यवसायमा रुपान्तरण गर्ने जनाएको छ।
कृषि कम्पनी खोलिएसँगै मुलुकमा २५ देखि ३० लाखलाई रोजगारी दिन सकिने पनि अभियानको दाबी छ। अध्यक्ष अधिकारीले भने, ‘कृषिमा देशलाई आत्मनिर्भर बनाउनेछौं। कृषि पेशा र किसानमा आत्मनिर्भरता आवश्यक छ। अब खेतीयोग्य जमिन बाँझो रहने छैन। हामी उत्पादनको बजारीकरण गराउने छौं। दशेको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने छौं। हरित क्रान्तिले देशमा पर्यटक भित्र्याउनेछौं।’