काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २०औं सत्याग्रह थालेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ । तर उनले औषधि लिन नमानेका कारण स्वास्थ्य अवस्था बिग्रिदै गएको छ ।
अस्पतालले भेटघाटमा पनि रोक लगाएको छ । केसीसँगै रहेका उनका सहयोगी डाक्टर अमृत जैसीले स्वास्थ्य अवस्था झन बिग्रिदै गएको जानकारी दिए ।
‘ब्लड प्रेसर पनि निकै घटेर ९०/६० पुगेको छ । मुटुको चाल पनि घट्दो क्रममा छ,’ जैसीले भने, ‘समान्य स्लाइन पानी चढाए पनि औषधी लिनु मान्नुभएको छैन ।’
डाक्टर केसीले आफू तीन करोड नेपाली जनताका लागि अनशन बसेकाले स्वास्थ्य अवस्था तलमाथि हुँदैमा फरक नपर्ने भन्दै औषधी लिन मानिरहेका छैनन् ।
केसी धनगढी पुगेर अनशन बसेको पाँच दिन पुग्दा समेत सरकार पक्षबाट कुनै सुनवाइ भएको छैन ।