काठमाडौँ । नेकपा माओवादी केन्द्र क्षेत्र नं २ दाङले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।
दाङ क्षेत्र नं २ बाट माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित तीन जनाको नाम सिफारिस भएको हो । माओवादी केन्द्रका उपाध्यक्ष महरा, पार्टीका स्थायी कमिटी सदस्य रेखा शर्मा र पोलिटब्यूरो सदस्य निर्मल आचार्यको नाम सिफारिस गरिएको माओवादी केन्द्रका नेता शेसुराम भण्डारीले जानकारी दिए ।
महरा २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए । शर्मा समानुपातिकबाट सांसद भएका थिए ।
त्यस्तै, आचार्य २०७० सालको निर्वाचनमा क्षेत्र नं २ बाट उम्मेदवार भए पनि पराजित भएका थिए । यस क्षेत्रबाट नेकपा एमालेले पार्टी महासचिव शंकर पोखरेललाई एकल उम्मेदवारमा सिफारिस गरेको छ ।
नेपाली कांग्रेसबाट राजु खनाल, घनश्याम रेग्मी, किरण किशोर घिमिरे र भरतबहादुर न्यौपानेको नाम सिफारिस भएको छ ।