काठमाडाैं : ललितपुर महानगरपालिकाले पनि अबैध रूपमा बनाइएका संरचनाहरू हटाउन थालेकाे छ। आइतबार लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल सेन्टर हटाउन सुरु गरेको हाे ।
महानगरकै जग्गामा रहेको पेट्रोल पम्प लामो समयदेखि सञ्चालनमा रहेको थियो । तर महानगरले सार्वजनिक जग्गामा रहेको सबै संरचना हटाउने अभियान चलाएपछि १२ नम्बर वडामा रहेको उक्त पेट्रोल पम्प हटाउन थालिएको महानगरले जनाएको छ ।
पेट्राेल पम्प हटाउनकाे लागि महानगरका मेयर चिरिबाबु महर्जनसहितको टोली लगनखेल पुगेर पेट्रोल सेन्टरमा भएको इन्धन खाली गराउँदैछ ।
मञ्जुश्री पेट्रोलपम्पलाई ६ महिना अगाडि नै मापदण्ड विपरीत रहेको भन्दै हटाउन सूचित गरेता पनि नटेरकोले हटाउन बाध्य भएको महानगरले जनाएको छ । महानगरले पेट्रोल पम्प सिल गर्दै सञ्चालनमा रोक लगाएको छ ।
महानगरपालिकाले फुटपाथ मिचेर, नक्सा विपरीत बनाइएका अनधिकृत संरचना दशैंसम्ममा भत्काउन १७ भदौमा निर्देशन दिएको थियो ।