आउ परशुराम तिमी आउ
नेपालले तिमीलाई खोजीरहेको छ
नेपाली जनले तिमीलाई पर्खिरहेका छन्
निमुखाले तिमीलाई बोलाइरहेका छन्
यी हुतिहाराहरूको चर्तिकलाले
थाकेका नेपालीजनको कोलाहल
सुनी नसक्नु छ
नियम कानूनको उछितो काटिएको छ
जनताको दुःख
चित्कार सुनी नसक्दो छ
फोहोरी राजनीति
बेथितिको भारी
कसले बसाल्यो
कसले गरायो नेपाललाई बिरामी
हरे राम देश बचाउने कसम खानेहरू
स्वार्थको काट्टो खाँदै ठिक्क छन्
मै हुँ भन्दै हिँड्ने नागरिक समाजलाई
अरूको स्वार्थको भारी बोक्दै ठीक छ
आउ परशुराम तिमी आउ
छिटो आउ
तिम्रो २२औं फन्को हेर्नै बाँकी छ
आँधीबेहरी लिएर आउ
संसार थर्काउँदै आउ
तिम्रो तेजिलो मुहार
तिम्रा जटाभित्रको तेजिलो राप
तिम्रा कदमका धाप
सुन्न आतुर छन् नेपालवासीहरू
आउ परशुराम तिमी आउ
तिमी ढिलो हुँदा
देशको अस्तित्व मेटिने चिन्ता छ
नेपालीको नेपालीपन हराउने चिन्ता छ
नेपाल नेपालै नरहला भन्ने चिन्ता छ
चुनावी माहोल छ
चुनावको मौसम छ
नेपाल नेपालीको दिमागमा
भूकम्प ल्याउन जरुरी छ
मुटु नै थर्काउनु जरुरी छ
बुद्धि र विवेकमा तीर चलाउनु जरुरी छ
तिम्रो थन्क्याएर राखेको फर्साको
डरलाग्दो आवाज सुनाउ
आउ परशुराम तिमी आउ
नेपाल र नेपालीको रक्षा गर्न आउ ।।।