चितवन : गृहमन्त्री बालकृष्ण खाणले पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन आवश्यक रहेकाे बताएका छन।
नेपाली कांग्रेस चितवनद्वारा आज आयोजित ‘जनताको साथमा कांग्रेस अभियान’को समापन एवं विशेष सम्मान कार्यक्रममा उनले अरूलाई रूचि नभएपनि लाेकतन्त्रकाे हितकाे लागि गठबन्धन आवश्यक रहेकाे बताएका हुन।
उनले भने, ‘कतिपयलाई रुचिकर नहुन सक्छ । पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन जरुरी छ ।’ उनले विधिको शासन र संविधानको रक्षाका लागि गठबन्धन अघि बढेको छ भने। वीपीको प्रजातान्त्रिक समाजवादको सान्दर्भिकता अझै बढेर गएको उनको भनाइ थियो । विश्वमा नेपाललाई चिन्दै गर्दा सगरमाथाको देश, गौतमबुद्ध जन्मिएको देश र वीपीको जन्मभूमि भनेर चिन्ने गरेको उनको भनाइ छ ।
कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले निर्वाचनमा गठबन्धनको उम्मेदवारले हार्नुपर्दा गठबन्धनले हार्ने भएकाले सोहीअनुरुप परिचालन हुन अनुरोध गरे। कार्यक्रममा अर्का कांग्रेस केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पूर्वजिल्ला सभापति रामकृष्ण घिमिरे र क्षेत्रीय सभापति राजु सिलवालले आउँदो निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी हुने गरी एकजुट बनाएर अघि बढाउनुपर्नेमा जोड दिए। सो अवसरमा जिल्लाका विभिन्न तह र तप्कामा रहेर पार्टीलाई योगदान पुर्याउने जीवित र मरणोपरान्त गरी एक सय ५० लाई सम्मान गरिएको थियो ।