काठमाडाैं : काठमाडौं महानगरपालिकाले बहाल कर बुझाउन नेपाली सेना र नेपाल प्रहरीलगायतका निकायलाई आग्रह गरेको छ। बिहीबार पत्र पठाउँदै १० दिन भित्र बहाल कर तिर्न आग्रह गरेकाे हाे।
नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यसबापतको बहाल कर बुझाउन आग्रह गरेको हो।
महानगरपालिकाले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहालकर तिर्न पत्राचार गरेको छ।
महानगरपालिकाको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीद्वारा हस्ताक्षरित पत्रमा पटक पटक ताकेता गर्दा पनि बहाल कर नबुझाएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन अनुरोध गरिएकाे छ।
अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल उपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने पत्रमा उल्लेख गरिएको छ।