काठमाडौं- नेपाल प्रहरीका तीनजना एआईजी उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन्। उनीहरूले ५६ वर्षे उमेर हदका कारण अवकाश पाउन लागेका हुन्।
नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले २० साउनमा उमेर हदका कारण अवकाश पाएपछि उक्त पद खाली छ। यस्तै, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका प्रमुख एआईजी मुकुन्द आचार्य २२ भदौ बुधबारदेखि अनिवार्य अवकाशमा गएका छन्।
यस्तै, प्रशासन विभाग प्रमुख एआईजीपी अरुणकुमार बीसी १४ कात्तिक र उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजीपी रवीन्द्र धानुक २४ कात्तिकदेखि अनिवार्य अवकाशमा जाँदै छन्।
यस्तै, मानव स्रोत विभाग प्रमुख एआईजी पूजा सिंहले ४ फागुनमा उमेर हदकै कारण अनिवार्य अवकाश पाउने छिन्। एआईजीहरू सहकुल थापा, उत्तम सुवेदी र दिवेश लोहनीले भने आईजीपी धीरजप्रताप सिंहसँगै ११ चैतमा ३० वर्षे सेवा अवधि पूरा गरेर अनिवार्य अवकाशमा पाउने छन्।