काठमाडाैं : कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। नेवा समुदायमाथि व्यंग्य गरेको आरोपमा पक्राउ परेका सिंहलाई थप पाँच दिनकाे हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएकाे हाे।
नेवा समुदायकाे अभियान्ताले प्रहरीमा जाहेरी दिएपछि सिंहलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो। १० दिन हिरासतमा बसिसकेका सिंहमाथि थप पाँच दिन म्याद थप गरिएकाे हो।
सिंहमाथि चार वटा शीर्षकमा जाहेरी परेकाले अनुसन्धान नसकिएकाे भन्दै प्रहरीले म्याद थपकाे अनुमति मागेकाे थियाे।
बुधबार प्रतिनिधि सभाकाे बैठकमा नेकपा एमालेका प्रमुख सचेतक तथा सासंद विशाल भट्टराईले पनि अपूर्वको रिहाइको माग गरेका छन्।
उनले अपूर्वमाथि अत्याचार नगर्न भनेका छन्। ‘अपूर्व क्षितिज सिंह जस्तो कलाकारलाई १० औं दिन देखि थुनामा राख्ने काम यो सरकारले गरिरहेको छ। र म उहाँलाई सिघ्र रिहाइको माग गर्न चाहन्छु,’ उनले भने, ‘उहाँले यसअघि नै आफ्नो पोष्टबाट डिलिटमात्रै गर्नुभएको छैन। क्षमायाचना पनि गर्नुभएको छ। उहाँलाई थुनेर कुनै पनि खालको अत्याचार नगरियोस् र कलाकारमाथि कुनै खालको दमन नगरियोस्।’