काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठले प्रहरी हिरासतमा पठाएका सुरक्षा गार्ड शेरजंग गुरुङ गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा सोमबार साँझ रिहा भएका छन्।
गृहमन्त्री खाँणले काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई आवश्यक प्रक्रिया पूरा गरेर उनलाई रिहा गर्न निर्देशन दिएका थिए। उनलाई साधारण तारेखमा रिहा गरिएको छ। प्रजिअ रिजालको इजलासले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।
उनलाई अभद्र व्यवहारमा मुद्दा चलाइएको थियो। उक्त मुद्दा प्रजिअको इजलासले हेर्ने गर्छ।
गुरुङलाई तत्काल रिहा गर्न आदेश माग गर्दै उनकी श्रीमती लक्ष्मी गुरुङले सोमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट पनि दायर गरेकी थिइन्। मंगलबार रिटको सुनुवाइ तोकिएकामा त्यसअघि नै गुरुङलाई रिहा गरिएको छ।
ठमेलस्थित क्यानेडियन भिसा सेन्टरमा पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षा गार्ड गुरुङले लाइनमा बस्न भनेका थिए। मन्त्री श्रेष्ठले लाइन मिच्न खोजेपछि गुरुङले रोकेका थिए। सोही बहानामा मन्त्री श्रेष्ठको निर्देशनमा प्रहरीले गुरुङलाई पक्राउ गरेको थियो।