काठमाडौं- भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रूपमा चार घोडासहित २२ करोड ३८ लाख रुपैयाँबराबरका सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गरेका छन्।
प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा नेपालको पाँचदिने नेपाल भ्रमणमा रहेका पाण्डेले सोमबार ती सामग्री हस्तान्तरण गरेका हुन्। नेपाल-भारत द्विपक्षीय परामर्श समूहको निर्णयअनुसार पाण्डेले नेपाली सेनालाई जंगीअड्डामा आयोजित समारोहबीच ती सामग्री हस्तान्तरण गरे।
निश्चित प्रतिशत नेपाली सेनाको समेत लगानी रहेका हातहतियारका पाटपूर्जा, १० वटा माइन प्रोटेक्टेड भेइकल र स्वास्थ्य सामग्री उनले हस्तान्तरण गरे। सहयोगस्वरुप प्राप्त घोडा उन्नत प्रजननका साथै विभिन्न सैनिक प्रयोजनमा उपयोग हुने सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए।
त्यसअघि जंगीअड्डामा सोमबार नै प्रधानसेनापति शर्मासँग पाण्डेले भेटवार्तासमेत गरे। भारतीय सेनाध्यक्ष पाण्डेको सम्मानमा सोमबार बिहान सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।
जंगीअड्डा मूल भवन परिसरमा उनले वृक्षरोपण गरे। सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पहार समर्पण गरी भारतीय सेनाध्यक्ष पाण्डेले श्रद्धाञ्जली अर्पण गरे।
सोमबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहमा उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ।
नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ। ००७ सालमा भारतीय सेनाका फिल्ड मार्सल केएम करिअप्पालाई पहिलोपटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो। यस्तै, ०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलोपटक भारतीय सेनाको मानार्थ सेना प्रमुखको सम्मान प्राप्त गरेका थिए।
नेपाली सेनाको प्रधानसेनापति नियुक्त भएलगत्तै शर्माले पनि भारतीय सेनाको मानार्थ महारथी पाएका थिए। हालसम्म भारतका २१ र नेपाली सेनाका १७ सेनापतिले उक्त सम्मान प्राप्त गरिसकेका छन्।