काठमाडौँ । अमेरिकाको उत्तरपूर्वी मिसिसिपीको टुपेलो सहरमा चोरेको जहाज घण्टौँसम्म आकाशमा घुमाएर दुर्घटना गराउन धम्की दिने पाइलटलाई हिरासतमा लिइएको छ ।
सहरको वालमार्ट स्टोरमा जानीजानी दुर्घटना गराउन धम्की दिने पाइलटले विमानलाई सुरक्षित रूपमा अवतरण गरेपछि हिरासतमा लिइएको गभर्नर टेट रिभ्सले जानकारी दिए ।
‘विमान अवतरण भएको छ, स्थिति समाधान भएको छ, कोही पनि घाइते भएका छैनन्, चरम सावधानीसाथ यो अवस्थालाई व्यवस्थापन गर्ने स्थानीय, राज्य र संघीय कानून प्रवर्तनलाई धेरै–धेरै धन्यवाद्,’ गभर्नर रिभ्सले ट्वीट गरे ।
बिचक्राफ्ट किंग एयर ९० विमानलाई चालकले पाँच घण्टाभन्दा बढी समयसम्म उडाएका थिए । जसलाई प्रहरीले ‘खतरनाक अवस्था’ भनेर वर्णन गरेको थियो । प्रहरीले पाइलटको पहिचान वा उद्देश्यको बारेमा कुनै जानकारी दिएको छैन ।
यसअघि टुपेलो प्रहरी विभागले सम्भावित दुर्घटनाको सावधानीबारे सचेत गराउँदै नागरिकलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको थियो । त्यस्तै, सबै आपत्कालीन सेवालाई तयारी अवस्थामा राखिएको थियो ।
स्थानीय पत्रिका डेली जर्नलले उक्त विमानका पाइलट टुपेलो क्षेत्रीय विमानस्थलका कर्मचारी रहेको जनाएको छ । प्रहरी घटनाबारे थप अनुसन्धान सुरु गरेको प्राप्त विवरणमा जनाइएको छ ।