काठमाडौँ । प्रर्याप्त खाद्यान्न नहुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले खाद्यान्न बिक्री बन्द गरेको छ । अति आवश्यक काममा प्रमुख जिल्ला अधिकारीको सिफारिसबाहेक अन्य नियमित गरिने बिक्री वितरण अर्का सूचना नहुँदासम्मका लागि स्थगित गरिएको निमित्त शाखा प्रमुख नवीनप्रसाद आचार्यले बताए ।
जिल्लाभरि रहेका डिपो र बिक्री केन्द्रमा चामल सकिएको र सिमकोट शाखामा मौज्दात कम भएपछि जिल्लाभरि बिक्री वितरण बन्द गरिएको हो । ठेकेदारले सबै चामल ढुवानी नगर्दा चामल खाद्यान्न आपूर्तिमा समस्या देखिएको हो ।
चालु आर्थिक वर्षमा कम्पनीको सिमकोट शाखाका लागि स्थल मार्गबाट चार हजार र हवाईमार्गबाट १० हजार क्विन्टल गरी १४ हजार क्विन्टल स्वीकृत भएको छ । जिल्लाका सात गाउँपालिकाका विभिन्न स्थानमा रहेका नौ वटा बिक्री केन्द्र बिक्री वितरण भइरहेको छ ।
जसका लागि ताँजाकोटको छप्रेला बिक्री केन्द्रका लागि एक हजार, श्रीनगर केन्द्रका लागि दुई हजार पाँच सय, देउली बिक्री केन्द्रका लागि पाँच सय, सर्केगाड बिक्री केन्द्रका लागि दुई हजार, खार्पुनाथ बिक्री केन्द्रका लागि एक हजार, याल्वाङ केन्द्रका लागि पाँच सय र लिमी केन्द्रका लागि पाँच सय गरी हुम्ला जिल्लामा लागि २० हजार पाँच सय क्विन्टल चामल स्वीकृत भई ठेक्का प्रक्रिया अगाडि बढिरहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।
जिल्लामा मनाइने विभिन्न स्थानीय चाड पर्वसँगै दसैँ तिहारमा चामलको अभाव नहोस् भनेर छिटोभन्दा छिटो चामल ढुवानीको व्यवस्था मिलाउन कम्पनीलाई निर्देशन दिइएको उनले बताइन् ।
अघिल्लो वर्षको ढुवानी हुन बाँकी चार हजार ६०० क्विन्टल चामलमध्ये ६ सय क्विन्टल ढुवानीको समिट एयरले असारमै जिम्मा लिए पनि अहिलेसम्म ढुवानी गरेको छैन । गत वर्ष नेपालगन्जबाट दुई हजार र सुर्खेतबाट दुई हजार क्विन्टल चामल थप भए पनि नेपालगन्जबाट एक–एक हजार र सुर्खेतबाट एक–एक हजार गरी दुई–दुई हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा समिट एयर र सीता एयर बिक्री भइसकेको छ ।
वर्षाका कारण समयमा ढुवानी गर्न नसकेको र हिमाली जिल्ला भएकाले बिहान मौसम नखुल्ने र दिउँसो हावा चल्ने भएकाले ढुवानीमा समस्या भएको एयरलायन्सको भनाइ छ । मौसम खुल्ने बित्तिकै ढुवानीको काम सुरु गर्ने एयरलाइयन्सहरुले बताएका छन् ।