काठमाडौँ । सुनसरीको इटहरी २ मा पिकअपको ठक्करबाट गए राति एक मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक इटहरी २ का २८ वर्षीय लोमस दाहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इटहरी २ गङ्गामार्गस्थित कोसी राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश१–०२–००२ च ४६६२ नम्बरको पिकअप गाडीले सोही दिशातर्फ आउँदै गरेको को १६ प ५७२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लोमसको मृत्यु भएको हो ।
सोही दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी ५ का २९ वर्षीय सरोज गुरागाईं सख्त घाइते भएको प्रहरीले जनाइएको छ । घाइते गुरागाईंको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पिकअप गाडी तीव्र गतिमा रहेका कारणले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुवै सवारी साधन इटहरी प्रहरीको नियन्त्रणमा रहेको र फरार पिकअप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।