रसुवा- पासाङल्हामु मार्गअन्तर्गत ग्रामीण भेकमा भएको सवारी दुर्घटनामा एक सवारी चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा दोलखाको गौरीशंकर गाउँपालिका-५ का ना३ख १९१ कन्टेनरका डिब्बा चालक २३ वर्षीय विश्वनाथ भुजेल छन्। रसुवाबाट काठमाडौं जाने क्रममा उक्त डिब्बा दुर्घटनामा परेको थियो।
दुर्घटनापछि घाइते चालकलाई सेनाको विष्णुदल गणले तत्काल उद्धार गरी नुवाकोटको त्रिशूली अस्पताल पु¥याए पनि उनको अवस्था थप जटिल बन्दै गएपछि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
गत २५ साउनमा बनुवा खण्डको पासाङल्हामु मार्गमा पहिरो गई रसुवा–काठमाडौं सीधा सम्पर्क विच्छेद भएपछि वैकल्पिक मार्गका रूपमा खोलिएको धारापानी–आम भञ्ज्याङ खण्डको ग्रामीण सडकअन्तर्गत बेलचौर क्षेत्रमा उक्त घटना भएको हो।
वैकल्पिक मार्गमा हल्का सवारीसाधनबाहेक अन्य सवारीसाधन गुडाउन अनुमति नदिएको अवस्थामा डिब्बा चालकले प्रहरीलाई छलेर साँघुरो सडक प्रयोग गर्दा दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।