काठमाडौँ । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीएल नेपालका केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद महेश बस्नेतलाई विगत सम्झन अनुरोध गरेका छन् ।
काठमाडौँ महानगरका मेयर बालेन शाहसहितका जनप्रतिनिधि र स्वतन्त्र समूहबाट चुनाव लड्ने तयारी गरिरहेका युवालाई मुखले सम्झाउँदा मानेनन् भने हात, गोडा केकेले सम्झाउने हो सम्झाउनुहोस् भनेर पार्टी कार्यकर्ताहरूलाई एक कार्यक्रममा निर्देशन दिएका थिए ।
नेता बस्नेतको निर्देशनपछि पनेरुले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘महेश कामरेड, तपाईलाई पनि उसै गरी सम्झाउने कोही निस्क्यो भने के गर्ने ? यसरी थुतुनो नछाडौ कामरेड, नेता बनौँ, सिर्जनशिलता र नयाँ प्रतिभाको डाहा नगरौं, बरु थप रचनात्मक बन्ने साहास गरौँ ।’
उनले वाईसीएल हेपिएकाको साथी मात्रै नभएर हेप्न खोज्नेहरूको विरुद्धको आवाज भएको बताए । एमालेको युथफोर्स दस्ताको नेतृत्व लिएर चर्चामा आएका बस्नेत एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्रका रुपमा चिनिन्छन् । उनी भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का सांसद हुन् । यसअघि उनी भक्तपुरकै तत्कालीन गुण्डु गाविसका अध्यक्ष भइसकेका थिए ।
तत्कालीन प्रधानमन्त्री ओलीको कार्यकालमा दल फुटाउने अध्यादेश ल्याउने बेला पूर्व आईजीपी सर्वेन्द्र खनालको सहयोगमा जसपाका सांसद सुरेन्द्र यादवलाई अपहरण शैलीमा मधेशबाट रातारात काठमाडौँ ल्याएर होटलमा राख्ने काममा उनको संलग्नता थियो ।
यता कोषाध्यक्ष पनेरुले तीन वर्षअघि चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट गरेको आरोप लागेको थियो । यद्यपि, उनीले अदालतबाट सफाइ पाइसकेका छन् ।