काठमाडौँ । आइतबार काठमाडौं, बारा र नपलवरासीमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका ६ स्थित सडकमा बा ७६ प १३५ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०१९ प २४७६ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक शंखरापुर नगरपालिका ५ पालुवारी घर भएका ३५ वर्षीया बालकुमार कटुवाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एक जना र मोटरसाइकल चालकको शिक्षण अस्पताल महाराजगंजमा र मोटरसाइकलमा सवार एक जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
बाराको जितपुरसिमरा उपमहानगर ३ बजनीमा बा ७१ प २९७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा वीरगञ्ज महानगर १० रानीघाट बस्ने ४५ वर्षीय शम्भु साह रहेका छन् । उनको शनिबार साँझ मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको अल्पाइन अस्पताल सिमरा हुँदै थप उपचारका लागि नारायणी अस्पताल वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनमा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको अल्पाइन अस्पताल सिमरामा उपचार भइरहेको छ ।
बाराको कलैया उपमहानगर ४ अदालत टोलमा बा प्र ०१–०२६ च ११२६ नम्बरको पिकअप अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति भएको उक्त दुर्घटना मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन ।
यसैगरी बाराको निजगढ नगरपालिका १० स्थित सडकमा हाल नम्बर नखुलेको अटो र बागमती प्रदेश ०३–०४ प ३९९७ नम्बरको स्कुटर ठोक्किदा एक जनाको मृत्यु भएको छ । शनिबार भएको उक्त दुर्घटनामा स्कुटरमा सवार निजगढ नगरपालिका ७ माझी टोल बस्ने शेखर पुलामीको ६ वर्षीया छोरी सिअल पुलामीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको निजगढ नेशनल हस्पिटल हुँदै पुरानो मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी पश्चिमको सुनवल नगरपालिका १३ बडेरामा लु ६२ प १२९२ नम्बरको मोटरसाइकल शनिबार दुर्घटना एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका–१ बस्ने २९ वर्षीय बिनय रायमाझी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।