काठमाडौँ । लिबियाको राजधानी त्रिपोलीमा पुनः हिंसा भड्किएको छ । हिंसामा परेर यहाँका कम्तीमा पनि १२ जनाको ज्यान गएको छ भने अरु ८७ जना घाइते भएका छन् ।
यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको छ । त्रिपोलीमा शनिबार विद्रोहीहरुले आक्रमण गरेका बताइएको छ । हिंसामा अस्पतालमा पनि क्षति पुगेको छ ।
त्यस्तै, कतिपय मेडिकल सेन्टरमा पनि आगजनी भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । यहाँका सरकारी फौजमाथि लिबियाका विद्रोहीहरुले हमला गरेका बताइएको छ । यसबाट राजधानी त्रिपोलीको मध्य क्षेत्रका कतिपय सरकारी भवनहरुमा पनि क्षति पुगेको बताइएको छ ।
शनिबार भएको यहाँका विद्रोहीको आक्रमणबाट मारिनेमा सर्वसाधारण नागरिक पनि परेका बताइएको छ । आक्रमणको संयुक्त राष्ट्र सङ्घीय मिसनले विरोध गरेको छ ।
लिबियामा रहेको संयुक्त राष्ट्र सङ्घीय मिसनले यहाँका विद्रोहीको आक्रमणबाट भएको क्षतिको विरोध गर्दै शान्ति प्रक्रियाबाट नै सबै समस्याको समाधानका लागि आग्रह गरेको छ ।