काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका ६ अर्थोपेडिक अस्पताल नजिकै गएराति स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्कुटर चालक काठमाडौँकै शंकरापुर नगरपालिका ५ पालुबारीका ३५ वर्षीय बाल कुमार कटुवाल रहेका छन् । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा कटुवालको गएराति पौने १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
कटुवाल प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दार रहेको बुझिएको छ । दुर्घटनामा घाइते भएका स्कुटरपछाडि बस्ने जोरपाटीका ३१ वर्षीय सुरेश राई र मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ ।
मोटरसाइकलमा पछाडि सवार भक्तपुरकै २० वर्षीय रोजित गाइजुको उपचार भने थापाथलीस्थित नर्भिक अस्पतालमा भइरहेको छ ।
बा ७६ प १३५ नम्बर स्कुटर र बागमती प्रदेश ०२–०१९ प २४७६ नम्बरको मोटरसाइकल गएराति साढे ११ बजे ठोक्किएका थिए ।