काठमाडौँ । नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएको आतङ्कवादविरुद्ध कारबाहीमा परी कम्तीमा पनि ५७ जना अतिवादी हतियारधारी मारिएका छन् ।
गएको दुई हप्तायता क्षेत्रमा सेनाले जारी राखेको कारबाहीका क्रममा ती हतियारधारी मारिएका समाचारमा जनाइएको छ ।
नाइजेरियाको सेनाका प्रवक्ता मुसा दनमादानीले कुराको जानकारी दिए । नाइजेरियाका दुई उत्तर पूर्वी प्रान्त बोर्नो र योबेमा सो कारबाही गरिएको थियो । सेनाले यी दुई प्रान्तमा हवाई तथा स्थलगत कारबाही गरेको थियो ।
उक्त कारबाही यही अगष्ट २५ सम्म गरिएको र त्यस क्रममा बोको हरामका ५७ जना लडाका मारिएका हुन् । उनीहरूले बोर्नो र युबे प्रान्तमा हिंसा गराएकाले नाइजेरियाली सेनाले उक्त कारबाहीको प्रक्रिया थालेको थियो ।
त्यस कारबाहीका क्रममा एक हजार छ सयभन्दा बढी बोको हरामका व्यक्तिले सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण पनि गरेका थिए । उनीहरूले हातहतियारसहित आत्मसमर्पण गरेका बताइएको छ । नाइजेरियाको बोर्नो प्रान्तमा बोको हरामका लडाकाहरूको प्रभाव रहेको मानिन्छ ।