काठमाडौँ । सरकारले तोकिएको समयमा काम नसक्ने, निर्माण लागत बढाएर योजना अलपत्र पारिदिने १० ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमनको कार्यालयले आज सार्वजनिक गरेको सूचनाअनुसार विदेशी कम्पनीहरूसमेत कालोसूचीमा परेको हो ।
सूचीमा शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ कन्स्ट्रक्सन निर्माण कम्पनीसमेत परेको छ । शैलुङ कम्पनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी हुन् । उनले प्रचण्डको आडमा विभिन्न ठूलो आयोजना अलपत्र पार्दै आएका छन् ।
सडक सुधार तथा विकास आयोजना निर्देशनालयको सिफारिसमा भक्तपुर–नगरकोट–सिपाघाट र बालाजु, त्रिशूलीरछहरे–विदुर सडक ठेक्का अलपत्र पारेपछि एआईपीएलसँग जेभीमा रहेको शैलुङलाई तीन वर्ष प्रतिबन्ध लगाइएको हो । अहिले यो कम्पनी शारदाका छोरा अनुपका नाममा छ ।
