काठमाडौँ । धेरै पढ्ने र जागिर खाने सपना बोकेकी बागलुङ नगरपालिका ११ रायडाँडाकी दुर्गा सापकोटाको सपना कक्षा १२ पढ्दै तुहियो । आफूबाहेक परिवारका सबै सदस्य जन्मजात अपाङ्गता भएपछि छ वर्षको उमेरयता सापकोटाका दिन निकै कष्टकर रहे ।
पारिवारिक बोझ र आर्थिक सङ्कटले उनको बाँकी जीवन मेलापात र परिवारको लालनपालनमै बित्यो । उनको थाप्लोमा आमा, बुवा र दुई भाइको जिम्मेवारी छ । सापकोटाको पाँच जनाको परिवारमध्ये उनीमात्रै सपाङ्ग हुन् ।
उनीबाहेक बावु, आमा र दुई भाइ जन्मजात अपाङ्ग छन् । आमालाई क्यान्सर रोगसमेत छ । लालनपालन सबै २३ वर्षीया दुर्गाको काँधमा छ ।
दुर्गाका बुवा जगन्नाथ बोल्न र सुन्नसमेत सक्दैनन् । आमा सीता, भाइ प्रेम र प्रदीपको खुट्टा चल्दैन । ‘सात वर्षको उमेरदेखि मेलापातमै बितेको छ, आफ्नो एक टुक्रा जमिन छैन, अर्काको जग्गा अधिया कमाएर परिवार पाल्दै आएकी छु, आमाको दुवै खुट्टा बाङ्गो छ, पाठेघरको क्यान्सर छ । आर्थिक अभावले उपचार गर्न सकिएको छैन,’ उनले भनिन्, ‘भाइलाई घरमा पाल्न नसक्दा पोखरास्थित वेदआश्रममा पठाएकी छु ।’
बुबाबाहेक सबैलाई उपचारका लागि पोखरा र भरतपुर लगेको दुर्गाले सुनाइन् । गत साउन २९ गते सबै जनाको अपाङ्गता परिचयपत्र बनाएको उनले जानकारी दिइन् । ‘सम्पत्तिका नाममा खोला छेउमै रहेको घर छ,’ उनले भनिन् ।
अपाङ्गता परिचय पत्रका आधारमा राज्यले दिने आर्थिक सहायताले औषधोपचार गर्दै आएको दुर्गााको भनाइ छ । आमा सीताले ‘क’ वर्गको तथा अन्य तीन जनाले ‘ख’ वर्गको अपाङ्गता परिचय पत्र पाएका छन् ।
‘क’ वर्गको अपाङ्गता परिचय पत्र भएकालाई मासिक चार हजार र ‘ख’ वर्गको अपाङ्गता परिचय पत्र भएकालाई मासिक दुई हजार प्राप्त हुन्छ ।