काठमाडौँ । काठमाडौँ र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलामा मंगलबार राति आएको बाढीले ७५ लाख रुपैयाँको क्षति भएको छ । बाढीले सुकुम्वासी बस्ती, खोला आसपासका अन्यबस्ती, काँडाघारी प्रहरी प्रभाग, दिव्यश्वरी जग्गा एकीकरण आयोजनाभित्रका विभिन्न संरचनामा क्षति पुगेको जनाइएको छ ।
सांसद महेश बस्नेत र बागमती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले बाढी पीडित बस्तीको अवलोकन गरी पीडितको समस्याले तत्काल सम्बोधन गर्न सरकारसंग माग गरेका छन् । यसैगरी मध्यपुरथिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठसहितको टोलीले दिव्यश्वरी जग्गा एकीकरण आयोजना, मनोहरा सुकुम्वासी बस्तीलगायतको बाढी पीडित क्षेत्रमा अवलोकन गरी क्षतिको बारेमा जानकारी लिए ।
भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बाढीग्रस्त क्षेत्रको अवलोकन गरी क्षतिको विवरण संकलन गर्न आग्रह गरे । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बाढीले बङ्गुर, हाँसलगायतका पशु चौपया बगाउँदा र खाद्यान्न डुबानमा ७५ लाख बराबरको क्षति पुगेको जानकारी दिए ।
यसबाहेक सुकुम्वारी बस्तीकै पाँच घर भत्किएको, दिव्यश्वरीको एक घर बगाएको, काँडाघारी प्रहरी प्रभागको मेस नै भत्किएको, दिव्यश्वरी आयोजनाका खोला किनाराको कालोपत्र सडक नै कतै बगाएको र कतै चिरिएर भासिएको उनले जानकारी दिए ।