काठमाडौँ । मकवानपुरको हेटौँडादेखि काठमाडौँ जाने छोटो दूरीको सडक खण्डअन्तर्गतको सडक निर्माण सुरु भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको प्रदेशको राजधानी पूर्वाधार विकास विशेष आयोजनाले सो सडकलाई दुई खण्डमा गरेर ठेक्कामार्फत काम सुरु गरेको जनाएको छ ।
सडक खण्डको ७५ करोडको लागतमा काम भइरहेको बताइएको छ । आयोजनाका अनुसार कुलेखानीदेखि दक्षिणकालीसम्मको सडकलाई दुई खण्ड गरेर ठेक्कामार्फत काम भइरहेको छ । हेटौँडादेखि काठमाडौँबीचको कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकको दुई खण्ड गरेर २० किमी सडकको ७५ करोड लागतमा निमार्ण कार्य भइरहेको सो आयोजनाले जनाएको छ ।
आयोजनाले छुट्याएको मकवानपुर सडक खण्डमा १२.१५ किलोमिटर सडक खण्ड इन्द्रसरोवर गाउँपालिकाको ज्यामिरेदेखि निमार्ण तीव्र रूपमा भइरहेको आयोजनाका इञ्जिनियर किरण रञ्जितले जानकारी दिए । मकवानपुर सडक खण्डमा ४३ करोड ४१ लाख १६ हजारको लागतका रमण पिआर त्रिवेणी जेभी मूलपानी काठमाडौँसँग सम्झौता गरेर काम सुरु भएको बताइएको छ । सडक खण्ड २०८१ साल भदौ २४ गते सक्नेगरी सम्झौता गरिएको इञ्जिनियर रञ्जितले जानकारी दिए ।
यसैगरी काठमाडौँ सडक खण्डमा ३१ करोड ९३ लाख ११ हजारको लागतमा आठ किलोमिटर रौता रामसागर जेभी काठमाडौँले ठेक्का प्राप्त गरेर काम गरिरहेको छ । निर्माण कम्पनीसँग २०७८ असार ११ गते सम्झौता गरेर २०८० असार १० गतेसम्म सक्ने गरी सम्झौता भएको आयोजनाले जानकारी दिएको छ ।
हाल दुवै सडक खण्डमा कटिङ गर्ने, नाली निर्माण गर्ने, पिच गर्ने, वाल निर्माण गर्ने तथा १० मिटर बाटो फराकिलो गर्नेलगायतका काम भइरहेको छ । ८५ किमीको सडकअन्तर्गत हेटौँडादेखि काठमाडौँसम्म साना सवारी साधन मात्र गुडिरहेको सो सडक निर्माण भएमा ठूला सवारी साधनहरु पनि राम्रोसँग आउन र जान सक्ने बताइएको छ ।