काठमाडौँ । क्युबाको मातान्जास शहरस्थित तेल भण्डारण केन्द्रमा चट्याङ लागेर आगलागी हुँदा करिब ८० जना घाइते भएका छन् । १७ जना अग्निनियन्त्रक बेपत्ता भएका छन् ।
सीबीएस न्युजले ऊर्जा तथा खानी मन्त्रालयलाई उद्धृत गर्दै अग्निनियन्त्रकले अझै पनि माटान्जास सुपरट्याङ्कर बेसमा आगो निभाउने प्रयास गरिरहेका बताएको छ । शुक्रबार राति शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रण हुन सकेको छैन ।
यसैबीच सरकारले सबै प्रकारका घरेलु उयाय अवलम्वन गरे पनि नियन्त्रण गर्न नसकेपछि तेल भण्डारणबारे अनुभव भएका मैत्री देशहरूबाट अग्निनियन्त्रण विज्ञहरूको मद्दत मागेको छ । आगलागीको आसपासको क्षेत्रलाई नियन्त्रणमा लिन सेनाले हेलिकप्टरबाट पानी खसाल्दै आगो निभाउने प्रयास गरिरहेको छ ।
मातान्जासका अग्निनियन्त्रक प्रमुख रोबर्टो डे ला टोरेले भनेअनुसार अग्नि नियन्त्रकहरूले आगो फैलिनबाट रोक्नको लागि ट्याङ्कीहरूलाई चिसो राख्न प्रयास गरिरहेका छन् । मातान्जासको प्रान्तीय सरकारको फेसबुक पेजले घाइतेको संख्या ७७ पुगेको र १७ जना बेपत्ता रहेको उल्लेख गरेको छ ।
घाइतेमध्ये सात जनालाई हवानाको क्यालिक्सटो गार्सिया अस्पतालमा लगिएको बताइएको छ । क्युबाले इन्धन अभावको सामना गरिरहेको बेला यस्तो घटना भएको हो । यद्यपि, घटनाको विस्तृत विवरण र क्षति यकिन गर्न सकिने अवस्था छैन ।